बाढीपीडितको सारथि बन्दै एमाले – भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवातर्फ स्वयंसेवक परिचालन

विपत्तिमा जनताको साथमा एमाले, भोटेकोशीको बाढीले दिएको पीडामा मल्हम लगाउन स्वयंसेवक मैदानमा

काठमाडौं, १६ भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेकपा (एमाले) ले स्वयंसेवक परिचालन गरेको छ । बाढीबाट क्षतिग्रस्त क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिन जाने थप स्वयंसेवकहरूलाई एमाले केन्द्रीय कार्यालयबाट बिदाइ गरिएको छ ।

स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर पीडितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका काममा सहयोग गर्नेछन् । सचिव महेश बस्नेतले विपद्को समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले गर्नुपर्ने बताउनुभएको छ ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकले तत्काल राहत र उद्धारको अपेक्षा गरिरहेका बेला सरकारले उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उहाँको भनाइ छ ।

बस्नेतले राहत तथा सहयोगलाई ‘एकद्वार प्रणाली’मार्फत व्यवस्थापन गर्ने नाममा प्रदेश तथा स्थानीय सरकार, स्वयंसेवक, दाता तथा अन्य सहयोगी निकायलाई अलग्याउन नहुने बताउनुभएको छ । सरकारले समन्वय र सहकार्यका माध्यमबाट उपलब्ध सबै स्रोत–साधन पीडितसम्म पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सरकार, प्रदेश तथा स्थानीय तह र राजनीतिक दलहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभएको छ । सर्वदलीय बैठकमा दलहरूले सुझाव दिने तर ती सुझाव कार्यान्वयनका लागि सरकार र सत्तारूढ दलबीच प्रभावकारी समन्वय हुन नसक्नु दुःखद भएको उहाँको भनाइ छ ।

‘महाविपत्तिको बेला राजनीति होइन, सहकार्य आवश्यक छ। राहत र उद्धारमा सबैको हातेमालो हुनुपर्छ,’ बस्नेतले भन्नुभएको छ । विदेशी सहयोग, निजी क्षेत्र, स्वयंसेवक तथा दाताबाट प्राप्त हुने सहयोगलाई समेत पारदर्शी र व्यवस्थित ढंगले पीडितसम्म पुर्याउने वातावरण बनाउन उहाँले सरकारलाई आग्रह गर्नुभएको छ ।

विपद्को कठिन घडीमा सबै राजनीतिक दल, सरकारका तीनै तह, सुरक्षा निकाय, निजी क्षेत्र, स्वयंसेवी संस्था तथा आम नागरिक एकजुट भएर राहत, उद्धार र पुनःस्थापनाको अभियानमा लाग्नुपर्ने उहाँले बताउनुभएको छ । एमालेले विपत्तिको समयमा पीडित जनताको साथमा उभिनु राजनीतिक दल तथा कार्यकर्ताको सामाजिक जिम्मेवारी भएको जनाएको छ ।

पार्टीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षलाई सक्रिय हुन आग्रहसमेत गरेको छ । ‘विपत्तिको घडीमा पीडित जनताको साथमा उभिनु नै हाम्रो जिम्मेवारी हो,’ एमालेले जनाएको छ ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १४ : ४५  बजे