वासिङ्टन डिसी, १५ भदौ । अमेरिकाको एरिजोनास्थित ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आएको आकस्मिक बाढीका कारण करिब १५ जना बेपत्ता भएको अनुमान गरिएको छ । नेसनल पार्क सर्भिसले जनाएअनुसार बाढीले ठूला ढुङ्गा, धातुका संरचना र अन्य भग्नावशेषहरू कोलोराडो नदीमा बगाएपछि दर्जनौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
शनिबार दिउँसो करिब २ः३० बजे सुरु भएको उक्त आकस्मिक बाढीले ‘ब्राइट एन्जल क्यान्यनु र ‘फ्यान्टम रान्च’ क्षेत्रलाई बढी प्रभावित पारेको छ । ‘काइबाब प्लेटो’ (Kaibab Plateau) मा भएको भारी वर्षापछि बाढी आएको र प्रभावित क्षेत्रमा रहेका मानिसहरूको खोजी तथा उद्धारका लागि एरिजोनाका स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको एनपीएसले जनाएको छ ।
एनपीएसले जारी गरेको विज्ञप्तिअनुसार अगस्ट २९ मा ब्राइट एन्जल क्यान्यन र फ्यान्टम रान्च क्षेत्रमा आएको ठूलो आकस्मिक बाढी (Flash-flood) पछि बेपत्ता वा सम्पर्कविहीन भएका करिब १५ जना व्यक्तिहरूबारे जानकारी उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
आइतबार बिहानसम्म फ्यान्टम रान्च र तल्लो उत्तरी काइबाब ट्रेलबाट ६२ जनाको सकुशल उद्धार गरिएको छ भने कटनवुड क्याम्पग्राउन्ड र फ्यान्टम रान्चबाट थप मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने योजना छ । निकुञ्ज प्रशासनले उत्तरी काइबाब ट्रेलको छेउमा, ब्राइट एन्जल क्याम्पग्राउन्डमा र फ्यान्टम रान्चको उत्तरमा रहेको ‘बक्स’ क्षेत्रमा पदयात्रा वा क्याम्पिङ गरिरहेका व्यक्तिहरूको खोजी तीव्र बनाएको छ ।
बाढीका कारण राष्ट्रिय निकुञ्जमा पर्यटक तथा बासिन्दाहरूलाई खानेपानी सेवा दिने एकमात्र पाइपलाइनमा समेत क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।







प्रतिक्रिया