काठमाडौं, १५ भदौ । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा नेकपा (एमाले) ले सक्रियता बढाएको छ । रसुवा, नुवाकोटलगायतका जिल्लाका बाढीपहिरो पीडितका लागि एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले १०÷१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

दुवै प्रदेश कमिटीले उपलब्ध गराएको रकम पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष हस्तान्तरण गरिएको हो । विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको एमालेले जनाएको छ ।
एमालेले बाढीपहिरोबाट प्रभावित नागरिकका लागि कुल १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । पार्टीले घोषणा गरेको उक्त सहयोग रकम विभिन्न तहबाट राहत तथा उद्धारका लागि परिचालन गरिने जनाएको छ ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढीपहिरोले जनधनमा क्षति पुर्याइरहेका बेला पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन पार्टीका नेता–कार्यकर्तालाई सक्रिय बनाउने एमालेको तयारी छ । एमालेले विपद्को समयमा राजनीतिक नाराभन्दा माथि उठेर पीडित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

त्यसैअनुसार पार्टीले आर्थिक सहयोगसँगै राहत तथा उद्धार कार्यमा समेत आवश्यक समन्वय गर्ने जनाएको छ । विपद्को घडीमा पीडित नागरिकसँग प्रत्यक्ष जोडिँदै एमालेले ‘दुःखमा जनता, साथमा एमाले’ भन्ने सन्देशसहित आफ्नो राहत अभियानलाई अघि बढाएको छ ।








प्रतिक्रिया