तिब्बत बाढीमा सदगुरूका ८० श्रद्धालु बेपत्ता, मागे प्रभावित क्षेत्र ग्यारोङ जाने अनुमति

काठमाडौं, ११ भदौ । तिब्बतको नेपाल–चीन सीमावर्ती ग्यारोङ सहरमा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको कैलाश यात्रामा सहभागी ८० जना श्रद्धालु बेपत्ता भएका छन् ।

कैलाश यात्राबाट फर्किने क्रममा उहाँहरू ग्यारोङस्थित एक अध्यागमन केन्द्रमा रोकिएका बेला अचानक आएको बाढीको पानी भवनभित्र पसेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सद्गुरुले आज चिनियाँ अधिकारीसमक्ष आफू र इशा फाउन्डेसनका केही स्वयंसेवकलाई ग्यारोङ पुगेर खोजी तथा उद्धार कार्यमा सहयोग गर्न अनुमति दिन आग्रह गर्नुभएको छ ।

चिनियाँ अधिकारीलाई लेखेको पत्रमा उहाँले आफू तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यहरू ग्यारोङ पुगेर आफ्ना आफन्तको अवस्थाबारे जानकारी लिन र सम्भावित खोजीमा सहयोग गर्न चाहेको उल्लेख गर्नुभएको छ । उहाँहरूले उद्धार टोलीको काममा कुनै अवरोध नगर्ने पनि सद्गुरुले स्पष्ट पार्नुभयो ।

हाल सद्गुरु साकामा रहेको बताइएको छ । उहाँले त्यहाँबाट ग्यारोङ जाने अनुमति माग्नुभएको हो । सद्गुरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भावुक भिडियोमा बेपत्ता श्रद्धालुहरूको सूची पढ्दै उहाँ भावुक बन्नुभएको छ । उहाँका अनुसार बेपत्ता हुनेमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९ र जर्मनीका ४ नागरिक छन् ।

बेपत्ता ८० जनामध्ये ३४ जना पुरुष रहेका छन् भने बाँकी महिला छन् । समूहमा तीन जना स्वयंसेवक र एक जना चिकित्सकसमेत सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । नेपाल–तिब्बत सीमाक्षेत्रमा गएको भीषण हिमपहिरो तथा त्यसपछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।

हिमपहिरोसँगै ठूलो मात्रामा हिउँ, चट्टान, माटो र पानी लेंडे खोला नदीमा खसेपछि बाढी आएको बताइएको छ । लेंडे खोला भोटेकोसी नदीको सहायक नदी हो । बाढीले नेपालतर्फ पनि ठूलो क्षति पुर्याएको छ । उपलब्ध विवरणअनुसार नेपालमा मात्रै १६३ जनाको मृत्यु भएको मृतकको संख्या बढ्दै गएको र ७५० भन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ ।

बेपत्ता हुनेमा १३३ जना भारतीय श्रद्धालु रहेको उल्लेख छ । यता ग्यारोङ क्षेत्रमा ५५८ जना बेपत्ता रहेको र तीमध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार उक्त शक्तिशाली भूस्खलनले ५.२ म्याग्निच्युडको भूकम्पसरह झट्का उत्पन्न गरेको थियो ।

हाल पहाडी क्षेत्रमा फसेका मानिससम्म हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याउने तथा बेपत्ताहरूको खोजी गर्ने काम जारी रहेको बताइएको छ । सद्गुरुले पनि आफ्ना समूहका बेपत्ता सदस्यको अवस्थाबारे तत्काल जानकारी पाउन र खोजीमा सहयोग गर्न आफूलाई ग्यारोङ जाने अनुमति दिन चीन सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: ११ भदौ २०८३, बिहिबार  १६ : ११  बजे