एक वर्षमा २० खर्ब ८१ अर्बको वैदेशिक व्यापार, ८१ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं, ६ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको १९.२४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।

भन्सार विभागका अनुसार गत आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.२५ प्रतिशत बढी हो । सो अवधिमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, यस अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८१.८० प्रतिशत बढी हो । त्यसबेला १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

यस अवधिमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार  १६ : ११  बजे