बैरगनीया, ३ भदौ । भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौलीमा गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण अभियानअन्तर्गत सुगौली प्रहरीले बारा जिल्लाका एक युवकलाई ७५० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जितपुर उपमहानगरपालिका–१ निवासी राजन मुखिया रहेका छन् । उनी रमाकान्त मुखियाका छोरा हुन् । सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार मंगलवार प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो ।
सोही क्रममा शंकास्पद गतिविधिमा रहेका राजनलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट ७५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिँदै पक्राउ परेका युवकविरुद्ध भारतीय कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
बारा जिल्लाको जितपुरबाट गाँजा बोकेर हिँडेका नेपाली युवक भारतीय भूमिमा करिब ३५ किलोमिटरभित्र पुगेर पक्राउ परेपछि सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा नेपाली सुरक्षा संयन्त्रको निगरानीमाथि प्रश्न उठेको छ ।
नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ । नेपाली भूमिबाट गाँजा बोकेर भारतीय क्षेत्रमा प्रवेश गरी लामो दूरी पार गरेपछि मात्रै पक्राउ पर्नुले सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच र निगरानी कति प्रभावकारी छ भन्ने प्रश्नसमेत खडा गरेको छ ।
यद्यपि, भारतीय भूमिमा भएको उक्त पक्राउलाई आधार बनाएर नेपाली सुरक्षाकर्मीको प्रत्यक्ष संलग्नता तथा कमजोरी पुष्टि भएको निष्कर्ष निकाल्न मिल्दैन । तर, यस्ता घटनाले सीमा नाकादेखि भित्री क्षेत्रमा समेत लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा र समन्वयात्मक बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।
नेपालबाट भारततर्फ हुने गाँजा तथा अन्य लागुऔषधको अवैध ओसारपसार रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र संयुक्त निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।











प्रतिक्रिया