स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध

काठमाडौं, ३ भदौं । म्यानचेस्टर सिटीबाट बार्सिलोना सरुवा भएपछि स्पेनका विश्वकप विजेता रोड्रीले आफू नयाँ उत्साह पुनः महसुस गर्न तयार रहेको बताउनुभएको छ ।

सन् २०१९ मा एट्लेटिको मड्रिड छोडे यता पहिलो पटक स्पेनिस फुटबलमा फर्किएका २०२४ का ब्यालोन डी ओर विजेता रोड्रीले बार्सिलोनासँग करिब ६ करोड ५० लाख पाउन्ड को सम्झौता रकममा ‘नु क्याम्प’ अर्थात बार्सिलोनाको घरेलु मैदानमा चार वर्षका लागि सम्झौता गर्नुभएको छ ।

‘म मेरो करियरको यो नयाँ चरणलाई लिएर निकै खुसी र उत्साहित छु । यो एउटा नयाँ चुनौती हो, नयाँ कुराहरू अनुभव गर्ने र त्यो उत्साह पुनः महसुस गर्ने अवसर हो,’ रोड्रीले भन्नुभयो,‘म एउटा उच्च महत्वाकांक्षी क्लबमा आएको छु, जुन मेरो व्यक्तित्वसँग साँच्चै मेल खान्छ, त्यसैले यस सिजन हाम्रा लक्ष्यहरू प्राप्त गर्न म सक्दो सहयोग गर्ने प्रयास गर्नेछु ।’

जर्मन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा खेल्ने सम्भावना बारे रोड्रीले भन्नुभयो,‘म यस्ता प्रशिक्षक पाउन पाउँदा खुसी छु, जसले मेरो करियरमा धेरै योगदान पुर्‍याउनेछन् भन्ने मलाई लाग्छ । यो शैली मैले पहिले अनुभव गरेको भन्दा केही फरक छ, त्यसैले यो फलदायी हुनेछ र एक खेलाडीको रूपमा मलाई अघि बढ्न मद्दत गर्नेछ ।’

विश्वकप २०२६ को बिजेता टोली स्पेनको कप्तानसमेत रहेका ३० वर्षीय रोड्रीले सिटीमा ७ सिजन बिताए पछि क्लब छोडेका छन् । यस अवधिमा उहाँले २९८ खेल खेल्नुभयो र १२ वटा प्रमुख उपाधिहरू जित्नुभएको थियो, जसमा चार प्रिमियर लिग उपाधि, दुई एफए कप, तीन ईएफएल कप र २०२३ को च्याम्पियन्स लिग समावेश थियो ।

क्लबमा उहाँका अन्तिम दुई सिजन चोटका कारण प्रभावित भए पनि उहाँ यस गर्मीको विश्वकपमा उत्कृष्ट लयमा फर्किनुभएको थियो । स्पेनले दोस्रो पटक उपाधि जित्दा उहाँ ‘प्लेयर अफ द टुर्नामेन्ट’ अर्थात प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

सिटीका समर्थकहरूका लागि बिदाइ सन्देशमा रोड्रीले भन्नुभयो,‘हामीले हासिल गरेका उपलब्धिहरूप्रति गर्व र धेरै अविस्मरणीय क्षणहरूप्रति कृतज्ञताका साथ म क्लब छोड्दैछु, यी वर्षहरूमा हामीले सँगै गरेका कामहरू निकै विशेष र अविस्मरणीय छन् ।’

‘सिटीले मलाई एक खेलाडीको रूपमा मात्र होइन, एक व्यक्तिको रूपमा पनि विकास गर्न मद्दत गर्यो । मैले मेरा भाइलाई म्यानचेस्टर मेट्रोपोलिटन युनिभर्सिटीबाट स्नातक गरेको देखें । मैले मेरी प्रेमिकालाई एनएचएसमा काम गरिरहेको देखें। म्यानचेस्टरले मेरो सम्पूर्ण जीवनलाई आकार दियो,’ उहाँले बिदाइ सम्बोधन गर्दै भन्नुभयो । उहाँले थप्नुभयो,‘क्याटालान महारथी बार्सिलोनाका लागि खेल्नु एउटा सपना हो ।’

प्रकाशित मिति: ३ भदौ २०८३, बुधबार  १२ : २८  बजे