काठमाडौं, २ भदौं । सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मन्त्रीहरूका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको भन्दै प्रधानमन्त्री शाहलाई नियन्त्रण गर्न सुझाव दिनुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेकपा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक ब्यावहार र अभिव्यक्तिका कारण समाजमा नैरश्यता फैल्याउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार ज्वरो आउँदा मन्त्रीले हेलिकोप्टर मगाउने, जनताले आफ्ना माग पूरा गरिदिनुस् भन्दा भोट फिर्ता लिनुस् भन्ने जस्ता अभिव्यक्ति मन्त्रीबाट आउनु सही छैन ।
‘एकातिर विपद् छ । रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्याउनुपर्ने छ तर एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकोप्टर पठाइन्छ । रेस्क्युको काम हुँदैन । पुनःपस्थापनाको लागि काम हुँदैन र त्यहाँ पुर्याउने सामान पुग्दैनन् तर उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ । उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ,’ सांसद पुनले भने, ‘यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ ? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् र विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुस् ।’







प्रतिक्रिया