सात निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं, २ भदौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

तोकिएको जिम्मेवारीअनुसार काम सन्तोषजनक रूपमा सम्पन्न नगरेको भन्दै विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको बझाङको नमादेउ निर्माण सेवा, शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेको एम/एस बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवा रहेका छन् ।

यी कम्पनीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र पूर्वाधार विकास निर्देशनालय सुर्खेतको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै पवन पासवान मुख्य व्यक्ति रहेको धनुषाको रमन कन्स्ट्रक्सन, श्यामकिशोर साह मुख्य व्यक्ति रहेको धनुषाको सगुन निर्माण सेवा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ललितपुरको ओम इन्फ्राटेक पनि कालोसूचीमा परेका छन् ।

यी तीन कम्पनीलाई सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना तथा सन्धिखर्क, अर्घाखाँची सडक विभागको सिफारिसमा कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  ०८ : ३९  बजे