किशोर श्रेष्ठको घर र कार्यालयबाट बरामद सामान फिर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठको घर तथा कार्यालयबाट प्रहरीले बरामद गरेका कम्प्युटर, ल्यापटपलगायत सबै सामान फिर्ता गर्न आदेश दिएको छ ।

श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बरामद सामान फिर्ता गर्न आदेश दिएको हो ।

अदालतले बरामद गरिएका सामान अदालतका सहरजिष्ट्रारको रोहबरमा श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठलाई फिर्ता गर्न भनेको छ ।

आदेशको ९ नम्बर बुँदामा श्रेष्ठ सञ्चार संस्थासँग सम्बद्ध व्यक्ति भएकाले संविधानले प्रत्याभूत गरेको सञ्चारसम्बन्धी अधिकारअनुसार सञ्चारमाध्यमका सामग्री जफत गर्न तथा सञ्चारमाध्यमको काम अवरुद्ध गर्न नमिल्ने उल्लेख गरिएको छ ।

श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले साउन २७ र २८ गते जनआस्था साप्ताहिकको कार्यालय तथा उनको निवासमा छापा मारेर कम्प्युटर, ल्यापटपलगायत विद्युतीय उपकरण बरामद गरेको थियो ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठलाई यसअघि नै सर्वोच्च अदालतले हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ।

प्रकाशित मिति: १ भदौ २०८३, सोमबार  २१ : १४  बजे