लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मतसहित उहाँको पद जोगिन पुगेको छ ।

आज भएको मतदानमा उहाँको बिपक्षमा २६ मत मात्रै परेको थियो । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए, जसमध्ये उहाँले ४५ मत प्राप्त गर्नुभएको हो । जसअनुसार आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो ।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन् । समाजवादीले केन्द्रिय निर्देशन अस्विकार गर्दै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गरेका हुन् । आजको मतदान प्रकियामा ८ सांसद अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: १ भदौ २०८३, सोमबार  १६ : १६  बजे