काभ्रे, १ भदौं । म्यादी प्रहरी युवतीसँग होटेलमा भेटिएका भकुण्डेबेसी प्रहरीका सई श्रेष्ठमाथि छानबिन सुरु भएको छ । प्रहरी कार्यालय भकुण्डेबेसीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग होटलको कोठामा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका थिए ।
आइतबार राति काभ्रेकै पाँचखाल घर भएकी एक युवतीसहित नमोबुद्ध बजारस्थित ‘होटल नमोबुद्ध’ मा बसेका सई श्रेष्ठलाई स्थानीय युवाहरूले मध्यरातमा ढोका खोल्न लगाई नियन्त्रणमा लिएका हुन् । स्थानीयले उनीहरू होटलमा बसिरहेको अवस्थामा फेला पारी भिडियो खिच्दै सोधपुछसमेत गरेका थिए ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । प्रहरी स्रोतका अनुसार सई श्रेष्ठसँग भेटिएकी युवती गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना भएकी तत्कालीन अस्थायी निर्वाचन प्रहरी (म्यादी) हुन् । सो निर्वाचन प्रहरी भर्ना छनौट प्रक्रियामा सई श्रेष्ठ आफैँ खटिएका थिए ।
सोही क्रममा उनीहरूबीच चिनजान भई प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ । घटना सार्वजनिक भएलगत्तै आवश्यक छानबिनका लागि सई श्रेष्ठ र ती युवती दुवैलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल झिकाइएको छ । अहिलेको घटनापछि उनीमाथि थप प्रशासनिक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया