चितवन, २९ साउन । चितवनमा साउन महिनामा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । यस्तै भरतपुर महानगरपालिकाका पाँच जना र रत्ननगर नगरपालिकाका एक जनामा स्क्रब टाइफस देखिएको छ ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयले जनाएको छ । यससँगै साउनमा चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको संख्या चार र स्क्रब टाइफस सङ्क्रमितको संख्या ३४ पुगेको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ । दुवै रोगका कारण हालसम्म कसैको पनि मृत्यु भएको छैन ।
वर्षायाममा डेङ्गुको जोखिम बढ्ने भएकाले स्थानीय तहसँगको समन्वयमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको अभियान अन्य पालिकामा पनि सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
अभियानमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी र जनप्रतिनिधिसहितको टोली सहभागी छन् । टोलीले लामखुट्टेको लार्भा खोजी नष्ट गर्नुका साथै डेङ्गुबाट बच्ने उपायबारे सचेतना फैलाइरहेको छ ।
डेङ्गुबाट जोगिन घरआँगन तथा वरपर पानी जम्न नदिन, टायर, गमला तथा अन्य पानी जम्ने ठाउँ नियमित सफा गर्न केसीले आग्रह गर्नुभएको छ ।
यस्तै, स्क्रब टाइफसको जोखिमबाट जोगिन घरवरपर झाडी नराख्ने तथा खेतबारी र जङ्गलमा जाँदा शरीर ढाक्ने कपडा लगाउन उहाँले सुझाव दिनुभएको छ । किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।











प्रतिक्रिया