ललितपुर, २७ साउन । नेपाली कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण, शंका र त्रासको दृष्टिले नहेरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै नियन्त्रणमुखी नीति अन्त्य, अवैध आयात नियन्त्रण र कर्जा प्रवाह बढाउने नीति लिन सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसले निजी क्षेत्रमाथि कडा कानुनी प्रावधान राख्नेभन्दा स्पष्ट नियम, पारदर्शी प्रक्रिया र न्यायोचित कानुनी सुनुवाइमार्फत सुशासन कायम गर्नुपर्ने बताएको छ। स्वदेशी उद्योगलाई अवैध आयातबाट संरक्षण गर्न उत्पादनमूलक तथा श्रमप्रधान उद्योगका लागि राहत प्याकेज ल्याउनसमेत माग गरेको छ।
त्यस्तै, बैंकिङ प्रणालीमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्र, पूर्वाधार तथा साना–मझौला उद्योगमा प्रवाह गर्न सहज कर्जाको व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ।
कांग्रेसले वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थिरता, निर्माण व्यवसायीको बाँकी भुक्तानी तथा खराब कर्जा व्यवस्थापनका लागि ठोस आर्थिक योजना आवश्यक रहेको जनाएको छ।
यसैबीच, सभापति गगनकुमार थापाले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने उद्देश्यले ‘बीआईयू’ (Build, Incubate and Uplift) अभियान घोषणा गर्नुभएको छ। अभियानमार्फत युवाको सीप र सम्भावनालाई रोजगारी तथा उद्यमसँग जोड्ने लक्ष्य राखिएको कांग्रेसले जनाएको छ।











प्रतिक्रिया