काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताउनुभएको छ । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उहाँले बताउनुभयो ।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भन्नुभयो, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’ उहाँहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।उक्त छलफल भर्खरै सकिएको हो । उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलका अन्य विषय बाहिर आएको छैन । उहाँहरू दुवै पार्टी कार्यालय च्यासलबाट बाहिरिसक्नुभएको छ ।
प्रतिक्रिया