भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशी जेल नबसी कैद भुक्तान

काठमाडौं, २४ साउन । भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब कारागारमा बसेर थप कैद भुक्तान गर्नु नपर्ने भएको छ ।

विशेष अदालतले ज्येष्ठ नागरिकका लागि कानुनमा रहेको कैद छुटको व्यवस्था लागू हुने ठहर गरेपछि जोशीले जेल नबसी बाँकी कैद भुक्तान गर्न पाउने हुनुभएको हो ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले शुक्रबार जोशीले दायर गर्नुभएको कैद छुटसम्बन्धी निवेदनमा बहुमतका आधारमा आदेश दिएको हो । जोशीले असार २४ गते ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा उपलब्ध गराउन माग गर्दै निवेदन दिनुभएको थियो ।

कानुनी व्यवस्थाअनुसार ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा ७५ प्रतिशतसम्म छुट पाउन सक्ने व्यवस्था छ । जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा तीन महिना १७ दिन हिरासतमा बिताइसक्नुभएको थियो ।

कैद छुट दिने वा नदिने विषयमा विशेष अदालतका न्यायाधीशबीच भने मतभेद देखिएको थियो । न्यायाधीश पौडेल र कोइरालाले कारागारमा नरहे पनि ज्येष्ठ नागरिकले कैद छुट पाउन सक्ने राय दिनुभएको थियो । न्यायाधीश रावलले भने कैद छुटका लागि पहिले कारागारमा बसेर निवेदन दिनुपर्ने मत राख्नुभएको थियो ।

दुई न्यायाधीशको बहुमतका आधारमा जोशीलाई कारागारमा नबसी कैद भुक्तान गर्न पाउने आदेश भएको हो ।

सर्वोच्च अदालतले २०८१ साउन १३ गते जोशीलाई नौ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यसअघि विशेष अदालतले २०६९ साउन १० गते उहाँलाई एक वर्ष छ महिना कैद तथा दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो ।

विशेष अदालतको फैसला पुनरावलोकन गर्दै सर्वोच्च अदालतले कैद र जरिवाना दुवै घटाएको थियो । अनुसन्धानका क्रममा जोशीले भोगिसक्नुभएको तीन महिना १७ दिनको थुना पनि कैदमा समायोजन हुने र ज्येष्ठ नागरिकका रूपमा बाँकी कैदमा छुट पाएपछि उहाँले अब कारागार गएर थप कैद भुक्तान गर्नुपर्ने छैन ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार  १९ : ५०  बजे