त्रिदेशीय टी–२० शृङखलामा घरेलु टोली जिम्बाब्वेको दोस्रो हार : न्युजिल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौँ , ३ साउन । जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले लगातार दोस्रो जीत निकालेको छ ।

जिम्बाब्वेको हरारेमा गएराति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोलीलाई ८ विकेटले हरायो ।

जिम्बाब्वेले दिएको एक सय २१ रनको लक्ष्य न्युजिल्यान्डले १३ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो ।

उसका डेभन कन्वेले अविजित ५९ र ड्यारेन मिचेलले २६ रन बनाए । रचिन रविन्द्र ३० रनमा आउट भए ।

जिम्बाब्वेका टिनोटन्डा मपोसा र ब्लेसिङ मुजरवानीले एकरएक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

उसका वेस्ली मधिभारीले सर्वाधिक ३६ रन तथा ब्रायन बेननेटले २१ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डका म्याट हेनरीले ३ विकेट लिए । जिम्बाब्वे, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच शृङ्खला भइरहेको हो ।

लगातार दुई खेल जितेको न्युजिल्यान्ड ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो ।

लगातार दोस्रो खेल हारेको जिम्बाब्वे तालिकामा अङ्कविहीन छ । पहिलो खेलमा घरेलु टोलीलाई हराएको दक्षिण अफ्रिकाको दुई खेलमा २ अङ्क छ ।

भोलि जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । तालिकामा शीर्ष दुई टोलीबीच फाइनल खेल आउँदो शनिवार जुलाई २६ तारिखमा हुनेछ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, शनिबार  ०७ : ३७  बजे