काठमाडौं, २३ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ।
विभागले सूचना जारी गर्दै एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले २१ दिनभित्र विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने जनाएको हो।
विभागका अनुसार पाँच करोड रुपैयाँसम्मको कारोबारका लागि पाँच लाख रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा बढी कारोबारका लागि १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ। अनलाइन आवेदनसँगै आवश्यक कागजातको छापिएको प्रति विभागमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
यस्तै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाणपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ।
विभागले इजाजतपत्र सम्बन्धी थप जानकारी आवश्यक परे विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।







प्रतिक्रिया