फिफा अध्यक्ष इन्फान्टिनोले गल्ती स्वीकार्दै माफी मागे, राजीनामा नदिने घोषणा

काठमाडौं, २१ साउन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनाका विषयमा आफ्नो तर्फबाट प्रक्रियागत गल्ती भएको स्वीकार गर्दै माफी माग्नुभएको छ। साथै, चौतर्फी आलोचनाका बाबजुद आफू फिफा अध्यक्ष पदबाट राजीनामा नदिने र पदमै रहने स्पष्ट पार्नुभएको छ।

मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो त्रुटि स्वीकार गर्नुभएको हो। बैठक सम्पन्न भएको केही घण्टापछि फिफाले जारी गरेको विज्ञप्तिमा व्यवस्थापन बोर्डका उच्च अधिकारीहरूले अध्यक्ष इन्फान्टिनोप्रति निरन्तर समर्थन रहेको जनाएको छ।

प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले अघि सारिएको ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ प्रस्ताव पारदर्शी नभएको भन्दै युरोपेली फुटबल महासंघ (युइएफए) ले यसअघि इन्फान्टिनोमाथिको विश्वास गुमेको घोषणा गरेको थियो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले पनि उक्त घटनाक्रमलाई दुःखद र निन्दनीय भएको टिप्पणी गर्नुभएको थियो।

यद्यपि, व्यवस्थापन बोर्डको बैठकपछि महासचिव ग्राफस्ट्रोम र बोर्डका सदस्यहरूले इन्फान्टिनोको नेतृत्वप्रति पुनः पूर्ण समर्थन जनाएका छन्। साथै, प्रक्रियागत त्रुटिप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने आश्वासन दिनुभएको थियो। तर, फिफा काउन्सिल र सदस्य संघलाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको भन्दै विवाद चर्किएपछि उहाँमाथि व्यापक आलोचना भएको थियो।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ०९ : १८  बजे