नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, अब दुई घण्टामै यात्रा सम्भव

काठमाडौं, २१ साउन । लामो समयसम्म धुलो, हिलो, जाम र सास्तीको पर्याय बनेको नारायणगढ–बुटवल सडकखण्ड अहिले भने यात्रुका लागि सहज बन्दै गएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै नारायणगढदेखि बुटवलसम्मको यात्रा सामान्यतया दुई घण्टामै पूरा हुन थालेको छ।

निर्माण सुरु भएको झण्डै सात वर्षपछि सडकको अवस्था उल्लेखनीय रूपमा सुधारिएको हो। केही निजी सवारी चालकले भने डेढ घण्टामै नारायणगढ–बुटवल दूरी पार गरेको अनुभव सुनाएका छन्।

गत वर्ष दाउन्ने क्षेत्रमा सडकको दयनीय अवस्थाका कारण यात्रुले घण्टौं जाममा बस्नुपरेको, कतिपयले सडकमै रात बिताउनुपरेको तथा चाडपर्वका बेला गन्तव्यमा समयमै पुग्न नसकेको अवस्था थियो। अहिले भने फराकिलो र गुणस्तरीय सडक बनेपछि ती समस्या हट्दै गएका छन्।

निजी सवारी प्रयोगकर्ताले नारायणगढदेखि बुटवलसम्मको यात्रा एक घण्टा ३० मिनेटदेखि दुई घण्टाभित्र पूरा गर्न सफल भएको बताएका छन् भने सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीका अनुसार यात्रु चढाउँदै–ओराल्दै जाँदा पनि तीन घण्टाभित्र गन्तव्य पुग्न सकिने अवस्था बनेको छ।

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार पूर्वी र पश्चिमी दुवै खण्डको निर्माण प्रगति करिब ९२ प्रतिशत पुगेको छ। अहिले सडक सुरक्षासम्बन्धी संरचना निर्माण, नाली व्यवस्थापन तथा केही अन्तिम काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

११३ दशमलव ३५ किलोमिटर लामो नारायणगढ–बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।

चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको यो आयोजना विसं २०७५ चैत ८ गते सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले पटक–पटक म्याद थपिएको थियो।

सडक विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिएको छ भने बजार क्षेत्रका करिब २८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गरिएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ०९ : १२  बजे