काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ । उहाँले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यत्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताउनुभयो ।
‘यसले पुस्ता–पुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन् ।’ प्रधानमन्त्री ओलीले भन्नभयो,‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिने छैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।’
प्रतिक्रिया