चाडपर्व लक्षित गर्दै तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गरिने

काठमाडौं, १९ साउन । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई समाधान गर्न सरकारले आगामी तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले दशैं–तिहारलगायत चाडपर्वमा हुने बढ्दो मागलाई मध्यनजर गर्दै ग्यास आयात बढाउने निर्णय गरेको हो। बैठकमा सम्बन्धित मन्त्रालय, विभाग, एलपी ग्यास उद्योगी तथा ग्यास वितरकहरूको सहभागिता रहेको थियो।

बैठकमा व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार मध्यपूर्वमा देखिएको द्वन्द्वपछि सरकारले ७.१ किलोग्रामका आधा सिलिन्डर वितरण व्यवस्था लागू गरेको थियो। अहिले पुनः १४.२ किलोग्रामका भरिएका सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले एकैपटक ग्यास संकलन गर्न खोज्दा बजारमा अभाव देखिएको हो।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो समय उद्योगीहरूले अघिल्ला महिनाभन्दा बढी ग्यास आयात गरिरहेको भए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेकाले समस्या उत्पन्न भएको बताउनुभयो।

उहाँका अनुसार पछिल्ला छ महिनामा नियमित खपतको तुलनामा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको थियो। त्यस अवधिमा आधा सिलिन्डरको प्रयोग भएकाले उपभोक्तामा ग्यास अभाव हुने मनोवैज्ञानिक प्रभाव परेको र अहिले सबैले एकैपटक भरिएको सिलिन्डर लिन खोज्दा बजारमा असहज अवस्था देखिएको हो।

बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरण प्रणालीलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबीच समन्वय र व्यवस्थापनलाई तीव्र बनाउने निर्णय पनि गरेको छ।

एलपी ग्यास उद्योग सङ्घका अनुसार अप्रिल महिनामा ५१ हजार २८२ मेट्रिक टनको कोटामध्ये ३४ हजार ८१ मेट्रिक टन मात्र ग्यास आयात भएको थियो। त्यस्तै मे महिनामा ४९ हजार ५०० मेट्रिक टनको कोटामध्ये २८ हजार ५०४ मेट्रिक टन मात्रै आयात भएकाले अहिलेको आपूर्ति व्यवस्थापनमा दबाब परेको हो।

मुख्य सचिव कार्कीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि सरकार सरोकारवाला निकायसँग निरन्तर छलफल गर्दै आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधार अघि बढाउने बताउनुभएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  २० : ५६  बजे