NATTA निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुनिल शर्माको उम्मेदवारी, पर्यटन क्षेत्रको सुदृढीकरणमा जोड

काठमाडौं, १९ साउन । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को आगामी निर्वाचनलाई लक्षित गर्दै ‘भरत समूह’ ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। ‘सशक्त NATTA, समृद्ध पर्यटन—सदस्यसँगै, सदस्यका लागि’ भन्ने मूल नारासहित मैदानमा उत्रिएको टोलीले अनुभवी, सक्षम र पारदर्शी नेतृत्वमार्फत संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

टोलीका अनुसार NATTA लाई पर्यटन व्यवसायीहरूको साझा संस्था बनाउँदै सदस्यहरूको हकहित संरक्षण, संस्थागत सुशासन, उत्तरदायी व्यवस्थापन, व्यवसाय प्रवर्द्धन तथा नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ उम्मेदवारी दिइएको हो ।

भरत समूहको नेतृत्वमा अध्यक्ष पदका उम्मेदवार भरत पाण्डे रहनुभएको छ । वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सह-कोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार रहनुभएको छ ।

त्यस्तै, कार्यसमिति सदस्य पदका लागि दीननाथ पाण्डे (प्रकाश), दिनेश मैनाली, दीपक मरासेनी, नबिन गुरुङ, प्रकाश लोहानी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ ।

टोलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा आफूहरू केवल उम्मेदवार नभई परिवर्तनका प्रतिबद्ध सहयात्री भएको उल्लेख गर्नुभएको छ । सदस्यहरूको हितलाई केन्द्रमा राख्दै संस्थालाई अझ सुदृढ, पारदर्शी र परिणाममुखी बनाउने तथा पर्यटन उद्योगको समग्र विकासका लागि साझा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

भरत समूहले सम्पूर्ण NATTA सदस्य, पर्यटन व्यवसायी तथा सरोकारवालासँग सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दै आगामी निर्वाचनमा आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेको छ ।

आगामी अगस्ट १४, २०२६ मा हुने NATTA निर्वाचनलाई पर्यटन व्यवसायीहरूले निकै चासोका साथ हेरिरहेका छन् । नयाँ नेतृत्वले संस्थागत सुधार, व्यवसायीका समस्या समाधान, पर्यटन प्रवर्द्धन तथा निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  १३ : ४१  बजे