एमालेको नयाँ रणनीति : जनआधार बलियो बनाउन अभियान

सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान तत्काल सुरु गर्न एमाले महासचिव पोखरेलको कडा निर्देशन

‘जनतासँग सम्बन्ध जोड्न अब गाउँ–गाउँमा जागरण’

काठमाडौं, १८ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले ‘मिसन पार्टी जागरण’ अभियानलाई पार्टी निर्माणको महत्वपूर्ण अभियानका रूपमा उल्लेख गर्दै देशभरका सबै पालिकामा प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनतासँग पार्टीको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको अभियानमा पार्टी कमिटीसँगै जनसंगठनहरूलाई समेत सक्रिय रूपमा परिचालन गरिने बताउनुभयो ।

उहाँले अभियानलाई वर्ग, समुदाय तथा पेशागत क्षेत्रसम्म विस्तार गर्दै पार्टीको संगठनात्मक आधार फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, पार्टी सुदृढीकरणका लागि विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको विचारलाई थप समृद्ध बनाउँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

महासचिव पोखरेलले स्थानीय तहका पार्टी कमिटीहरूलाई चलायमान बनाउन रिक्त पदपूर्ति, पुनर्गठन तथा संगठन विस्तारलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। युवा सहभागिता वृद्धि, नेतृत्व विकास र कमिटीमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिहरू व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

पार्टी सदस्यता नवीकरण अभियानलाई सफल बनाउन आग्रह गर्दै उहाँले आवश्यक परे पार्टी केन्द्रबाट थप सहजीकरण गरिने जानकारी दिनुभयो । बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै महासचिव पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेकाले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको दाबी गर्नुभयो ।

उहाँले सरकार पूर्वाग्रही, प्रतिशोधपूर्ण तथा स्वेच्छाचारी शैलीमा अघि बढिरहेको आरोप लगाउँदै आवश्यक परे सडक आन्दोलनका लागि पनि पार्टी पंक्ति तयार रहनुपर्ने निर्देशन दिनुभयो । बैठकमा पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले सदस्यता नवीकरण अभियान उत्साहजनक रूपमा अघि बढिरहेको जानकारी दिनुभयो ।

यद्यपि औपचारिक समयसीमा समाप्त भए पनि अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । बैठकमा प्रदेश अध्यक्षहरूले ‘मिसन पार्टी जागरण’ अभियान, सदस्यता नवीकरण तथा संगठनात्मक गतिविधिबारे आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार  १२ : ५०  बजे