काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ मूल्यवृद्धि गरिएको छ।
मूल्य समायोजनपछि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
नेपाल आयल निगमले भने एलपी ग्यासको मूल्य यथावत् राखिएको जनाएको छ। निगमका अनुसार भारतबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।







प्रतिक्रिया