काठमाडौं, १७ साउन । स्पेनको स्वायत्त क्षेत्र सेउतामा हजारौँ आप्रवासी प्रवेश गरेपछि उत्पन्न संकटबारे छलफल गर्न युरोपेली सङ्घ (ईयू) ले मंगलबार आकस्मिक बैठक बोलाएको छ। घटनापछि सदस्य राष्ट्रहरूबीच आप्रवासन नीति र सीमा सुरक्षालाई लिएर मतभेद पनि चुलिएको छ।
करिब ६० हजार आप्रवासी मोरक्कोबाट स्पेनको अधीनमा रहेको सेउता प्रवेश गरेपछि ईयूका २२ सदस्य राष्ट्रले संयुक्त पत्रमार्फत साझा आप्रवासन नीति प्रभावकारी बनाउन र बाह्य सीमाको सुरक्षा थप सुदृढ गर्न आग्रह गरेका छन्।
सीमा–रहित शेङ्गेन व्यवस्थालाई लिएर पनि विवाद बढेको छ। इटालीले स्पेनसँगको शेङ्गेन व्यवस्था एक महिनाका लागि निलम्बन गरेपछि स्पेनले त्यसलाई “स्वार्थी, ध्रुवीकरणकारी र गैरकानुनी” कदमको संज्ञा दिएको छ। फिनल्यान्ड र डेनमार्कले भने इटालीको कदमप्रति समर्थन जनाएका छन्।
अधिकारीहरूका अनुसार जुलाई ३० मा सेउता पुगेका अधिकांश आप्रवासी फर्किसकेका छन्। यद्यपि, सीमा पार गर्ने क्रममा भएको घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ६७ पुगेको बताइएको छ।
ईयूका २२ सदस्य राष्ट्रले पठाएको पत्रमा गैरकानुनी प्रवेशलाई प्रोत्साहन गर्ने “हाइब्रिड खतरा” प्रति चिन्ता व्यक्त गर्दै यस्तो गतिविधिले साझा आप्रवासन प्रणालीमाथिको विश्वास कमजोर पार्ने उल्लेख गरिएको छ।
यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनलाई पत्र लेख्दै केही युरोपेली सरकारको प्रतिक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले स्पेनले ४८ घण्टाभित्र सीमामा पूर्ण नियन्त्रण पुनःस्थापित गरेको र अनधिकृत रूपमा युरोपतर्फ अघि बढ्ने प्रयास रोक्न सफल भएको दाबी गरेका छन्।
स्पेनका गृहमन्त्री फेर्नान्डो ग्रान्दे–मार्लास्काले अवस्था सामान्य बन्दै गएको जानकारी दिँदै समुद्री मार्गबाट हुने गैरकानुनी प्रवेश रोक्न नयाँ अवरोध निर्माणको काम भइरहेको बताएका छन्।
सेउता र मेलिल्ला अफ्रिका महादेशसँग जोडिएका युरोपेली सङ्घका एकमात्र स्थल सीमा हुन्। यी क्षेत्र लामो समयदेखि युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको प्रमुख प्रवेशद्वारका रूपमा रहँदै आएका छन्। २०२१ मा पनि केही दिनभित्र करिब ८ हजार आप्रवासी सेउता प्रवेश गर्दा स्पेन र मोरक्कोबीच कूटनीतिक तनाव बढेको थियो।







प्रतिक्रिया