रुकुमपश्चिममा जिप दुर्घटना, सात जना घाइते

रुकुमपश्चिम, २ साउन । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज बिहान त्रिबेणी गाउँपालिका १ रुँघाबाट मुसीकोटको खंलगातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्वरको जिप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा परेर चालक सहित सात जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा त्रिवेणी गाउँपालिका २ सिम्रुतु निवासी ३२ वर्षीय जिप चालक प्रेम खड्का, त्रिवेणी गाउँपालिका १ बस्ने ८४ वर्षीय शसे घर्ती, सोहि वडा निवासी २० वर्षीया सरिता के.सी., २८ वर्षीया सुनिता के.सी., त्रिवेणी गाउँपालिका २ बस्ने २२ वर्षीया गीता ओली, मुसीकोट नगरपालिका १३ निवासी ४० वर्षीया सपना परियार र मुसीकोट नगरपालिका ५ निवासी ५३ वर्षीया शिव कुमारी शर्मा रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु सबैको जिल्ला अस्पताल सल्ले उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । जिपमा रहेका १० जना मध्य अन्य तीन जना भने सकुशल रहेका छन् ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १४ : ०१  बजे