ई–सेवाको ‘सिस्टम’मै समस्या ? पटक–पटक अवरोधपछि प्रयोगकर्ता असन्तुष्ट

काठमाडौं । डिजिटल भुक्तानीमा व्यापक प्रयोग हुँदै आएको ई–सेवाको सेवा पटक–पटक प्रभावित हुन थालेपछि प्रयोगकर्ताको असन्तुष्टि बढ्दै गएको छ । प्राविधिक समस्या, निर्धारित मर्मत तथा प्रणाली अद्यावधिकका कारण सेवा अवरुद्ध हुँदा कारोबार रोकिँदै आएको र असफल कारोबारको रकम फिर्ता हुन समेत ढिलाइ हुने गरेको प्रयोगकर्ताको गुनासो छ ।

हालै ई–सेवाले ‘डिजास्टर रिकभरी ड्रिल’ का लागि करिब दुई घण्टा सेवा बन्द रहने सूचना जारी गरेको थियो । कम्पनीले यसलाई नियमित प्राविधिक परीक्षण भने पनि पटक–पटक सेवा अवरुद्ध हुँदा दैनिक कारोबारमै समस्या परेको भन्दै प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गुनासाअनुसार कारोबार असफल भए पनि रकम तत्काल फिर्ता नआउने, ‘पेन्डिङ’ देखिएको रकम लामो समयसम्म रोकिइरहने तथा ग्राहक सेवाबाट समयमै जवाफ नपाउने समस्या देखिएको छ ।

ई–सेवाले भने प्राविधिक वा बैंक तथा मर्चेन्ट पक्षको समस्याका कारण केही कारोबार ‘सक्सेस’ अवस्थामा पुगे पनि आवश्यक प्रमाणीकरणपछि त्यस्ता कारोबार क्यान्सिल वा रिफन्ड हुने जनाएको छ ।

तर डिजिटल भुक्तानीमा निर्भरता तीव्र रूपमा बढिरहेका बेला बारम्बार सेवा अवरुद्ध हुनु, रकम अड्किनु र रिफन्डमा ढिलाइ हुनु गम्भीर प्रश्न बनेको छ । प्रयोगकर्ताले सेवा स्थिरता, तत्काल समस्या समाधान र प्रभावकारी ग्राहक सहायता प्रणालीमा सुधार गर्न कम्पनीसँग माग गरेका छन् ।

ई–सेवाजस्तो व्यापक प्रयोग हुने डिजिटल वालेटको सेवा अवरोध हुँदा व्यक्तिगत कारोबार मात्र नभई व्यवसाय, बिल भुक्तानी र अन्य दैनिक आर्थिक गतिविधिसमेत प्रभावित हुने भएकाले सेवा विश्वसनीयता र जवाफदेहितामाथि थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  १८ : २५  बजे