पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता, सेवा सुचारु

काठमाडौं, १३ साउन । सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले जारी आन्दोलन फिर्ता लिँदै देशभर स्वास्थ्य सेवा पुनः सुचारु गर्ने निर्णय गरेका छन्।

नारायणी अस्पताल वीरगञ्जमा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा भएको वार्तापछि सहमति जुटेको हो।

सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम थप कारबाही अघि बढाइनेछ। साथै, स्वास्थ्यकर्मी सुरक्षा ऐन र मुलुकी अपराध संहिताका सम्बन्धित प्रावधान संशोधन प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ।

उपभोक्ता संरक्षण ऐनमा स्वास्थ्यसम्बन्धी आवश्यक संशोधनका लागि सात दिनभित्र कार्यदल गठन गर्ने तथा विगतका सम्झौताको कार्यान्वयनका लागि तीन दिनभित्र अर्को कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  २० : ४३  बजे