चीनले तिब्बतमा भत्काउँदैछ १ हजार ६० गुम्बा र भिक्षुका आवास

ल्हासा, १३ साउन । चीनले तिब्बतस्थित प्रसिद्ध ‘लारुङ गार बौद्ध एकेडेमी’ मा रहेका भिक्षु तथा भिक्षुणीहरूलाई तत्काल उक्त परिसर खाली गरी आफ्ना मूल गुम्बा वा घर फर्कन आदेश दिएको छ । तिब्बत टाइम्सका अनुसार यो जानकारी सार्वजनिक भएको हो ।

उक्त प्रतिवेदनका अनुसार चिनियाँ प्रशासनले स्पष्ट निर्देशन जारी गर्दै भनेको छ कि जसका आवासहरू भत्काइएका छन्, उनीहरू कुनै पनि हालतमा लारुङ गारमा बस्न पाउने छैनन् । अधिकारीहरूले धेरै भिक्षु र भिक्षुणीहरूलाई उनीहरूको गृह क्षेत्रमा जबरजस्ती फर्काउन पनि थालेका छन् ।

चीनले १३ जुलाईमा लारुङ गारमा भत्काउने अभियान सुरु जानकारी दिएको थियो । प्रशासनका अनुसार अत्यधिक भीडभाड र सुरक्षासम्बन्धी चिन्ताका कारण यो कदम चालिएको हो । यस अभियानमा १,०६० वटा गुम्बा र तीनका आवासहरू भत्काउने योजना समावेश रहेको छ ।

प्राप्त जानकारी अनुसार प्रशासनले सुरुमा ग्युत्रुल गुम्बा वरपरको क्षेत्र भत्काउने योजना बनाएको थियो तर गुम्बाका प्रतिनिधिहरूको विरोधपछि उक्त योजनामा ​​परिवर्तन गरियो। त्यसपछि भिक्षु तथा भिक्षुणीहरूको आवासलाई निसानामा पारियो र तीमध्ये एक हजारभन्दा बढी आवास भत्काइँदै छन् ।

समाचारमा यो पनि उल्लेख छ कि बाहिरबाट सेर्थार आएका भिक्षु तथा भिक्षुणीहरूलाई आ आफ्ना मूल गुम्बा वा परिवारकहाँ फर्कन आदेश दिइएको छ । यसैबीच, स्थानीय साधकहरूलाई पनि एकेडेमी छोडेर आ–आफ्ना सहर तथा गाउँका गुम्बाहरूमा जान भनिएको छ ।

साथै, लारुङ गारका बासिन्दा तथा त्यहाँ आउने तीर्थयात्रीहरूमाथि पनि कडा प्रतिबन्धहरू लगाइएका छन् । तीर्थयात्रीहरूको प्रवेशमा रोक लगाइएको छ । लारुङ गारमा यस्तो कदम चालिएको यो पहिलो पटक होइन, यसअघि चीनले सन् २००१, २०१६ र २०१९ मा ठूलो स्तरमा भत्काउने र निष्कासन गर्ने अभियानहरू सञ्चालन गरेको थियो ।

ती घटनाहरूमा पनि प्रशासनले अत्यधिक भीडभाड, सुरक्षासम्बन्धी चिन्ता र कानुनी स्वीकृतिको विषयलाई कारणका रूपमा अघि सारेको थियो ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १४ : २७  बजे