आज सार्वजनिक हुँदै राष्ट्रिय बाघ गणना, नेपालमा बाघको संख्या बढ्ने संकेत

काठमाडौं । विश्व बाघ दिवसको अवसरमा सरकारले आज नेपालको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। कृषि, भूमि व्यवस्था तथा वातावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा बाघ गणनाको विवरण सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने प्रचलन छ। पछिल्लो पटक सन् २०२२ मा गरिएको गणनामा देशभर ३५५ वटा पाटेबाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो। त्यसबेला सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ गणना गरिएको थियो।

वन तथा वन्यजन्तु संरक्षणसँग सम्बन्धित अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा बाघको बासस्थानमा सुधार, आहारा प्रजातिको वृद्धि र संरक्षण प्रयास प्रभावकारी भएकाले यसपटक बाघको संख्या थप बढ्ने अनुमान गरिएको छ।

नेपालले बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। सन् २०१० मा १२१ वटा रहेको बाघको संख्या सन् २०१४ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ पुगेको थियो। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो, जुन लक्ष्य नेपालले सफलतापूर्वक हासिल गरेको मानिन्छ।

यसपटकको सर्वेक्षण गत पुसदेखि करिब तीन महिनासम्म चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी क्षेत्र समेटेर गरिएको थियो। सर्वेक्षणका क्रममा करिब १,१०० स्वचालित क्यामेरा र २५० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

यद्यपि बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थानको व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौतीका रूपमा देखिएका छन्। हाल देशभर १६ वटा समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन्।

यस्ता बाघको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना अघि बढाएको छ। मन्त्रालयका अनुसार यसले समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरण उपलब्ध गराउनुका साथै वन्यजन्तु संरक्षण र पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  ०९ : ०५  बजे