काठमाडौं, १२ साउन । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ (२) बमोजिम साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ।
नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही आज मुख्यमन्त्रीमा दाबी पेस गर्दै कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री नियुक्त हुने तयारीमा हुनुहुन्छ।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिनुभएको थियो। केन्द्रमा भएको एमाले–नेकपा सत्ता सहकार्यअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाको भागमा परेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो।
शाही शीर्ष नेतासँग छलफल गरेर मंगलबार बिहान सुर्खेत फर्किनुभएको छ। सरकार गठनका विषयमा नेकपा र एमालेका प्रदेश नेतृत्वबीच छलफल जारी रहेको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार समाचार तयार पार्दासम्म मुख्यमन्त्रीमा दाबी पेस भएको औपचारिक जानकारी भने प्राप्त भएको छैन।







प्रतिक्रिया