चिकित्सकमाथि दुर्व्यवहारको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं, १२ साउन । नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्यबाट भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, आन्दोलनका क्रममा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाहीको माग गरिएको छ।

संघका अनुसार नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद रामसहित स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) अनुसार कडा कारबाही हुनुपर्ने माग गरिएको छ।

चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै मंगलबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

संघले आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। साथै, आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवार सरकार नै रहेको दाबी गरेको छ।

संघले आन्दोलनका आगामी कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने पनि जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  ०७ : ३७  बजे