सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी, २४ घण्टाभित्र दोषी पक्राउ नभए आन्दोलनको चेतावनी

रौतहट, ११ साउन । रौतहट क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार गरिएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा औपचारिक जाहेरी दर्ता गरिएको छ ।

सांसद पौडेलले आज रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासहित प्रहरी कार्यालय पुगेर घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन मागसहित लिखित निवेदन दर्ता गराउनुभएको हो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखी संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको बताउनुभयो ।

उहाँका अनुसार दोषीको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ । जाहेरी दर्ताका क्रममा उपस्थित रास्वपा नेता रवीन्द्र यादव र दीपक यादवले घटना भएको सात दिन बितिसक्दा पनि दोषी पक्राउ नपर्नु गम्भीर विषय भएको बताउनुभयो ।

जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा भएको आक्रमणमै प्रहरी प्रभावकारी बन्न नसकेको अवस्थामा सर्वसाधारणको सुरक्षाप्रति प्रश्न उठ्नु स्वाभाविक भएको उनीहरूको भनाइ थियो । यसैबीच रास्वपा रौतहटले घटनामा संलग्न व्यक्तिलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा नल्याइए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

गत बिहीबार राति गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल सकेर फर्किने क्रममा सांसद पौडेलमाथि अज्ञात समूहले पछाडिबाट कालोमसी प्रहार गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ४–५ जनाको समूहले पोस्टर र पर्चा छर्दै नाराबाजी गरेको र त्यसक्रममा सांसदमाथि कालोमसी प्रहार गरेर फरार भएको थियो । घटनापछि जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  १६ : २२  बजे