काठमाडौं, ९ साउन । हेटौँडा बसपार्कस्थित एक होटलबाट अनलाइन ठगी सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ।
मकवानपुर प्रहरीले हेटौँडा–१० बसपार्कमा रहेको बास्तोला होटलमा छापा मारेर बिहार, भारतका २७ वर्षीय इन्द्रजीत सरकार, २० वर्षीय सहर्षजीत सरकार र २३ वर्षीय अमन राजलाई नियन्त्रणमा लिएको हो। घटनामा मिलेमतो देखिएको भन्दै होटल सञ्चालक ३७ वर्षीय दीपक बास्तोलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले विगत करिब ६ महिनादेखि होटलमै बसेर विभिन्न प्रलोभन देखाई भारतीय नागरिकलाई लक्षित गर्दै अनलाइनमार्फत ठगी गर्दै आएका थिए।
मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले ठगीसम्बन्धी सूचना प्राप्त भएपछि चारै जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए।
अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गरेका मोबाइल डिभाइसमा टेलिग्राम, ह्वाट्सएपलगायत एपमार्फत आर्थिक कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले ठगीमा परेका सम्भावित पीडितलाई सम्बन्धित प्रमाणसहित उजुरी दिन आग्रह गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







प्रतिक्रिया