काठमाडौं, ९ साउन । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँसहित घुस प्रकरणमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरिएको हो।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफाबाट सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ। खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत फेला परेको अख्तियारले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेका थिए। चौधरीले सेवाग्राहीबाट रकम बुझेर डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्याएको आरोप छ।
अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।







प्रतिक्रिया