२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

काठमाडौं, ८ साउन । भारतीय अभियन्ता सोनम वाङचुकले परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध सुरु गरेको २६ दिने अनशन अन्त्य गर्नुभएको छ।

उहाँले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनशन सुरु गर्नुभएको थियो। बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विभिन्न सर्तमा भएको लामो छलफल र सम्भावित हिंसालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको जानकारी दिनुभएको हो। ती सर्तबारे छुट्टै भिडियोमार्फत जानकारी गराउने पनि उहाँले उल्लेख गर्नुभएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा कानुनी व्यवस्था ल्याइने घोषणा गर्नुभएको छ। उहाँले दोषीलाई फास्ट–ट्र्याक अदालतमार्फत कारबाही गर्ने तयारी भइरहेको र यस विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताउनुभएको छ।

प्रधानमन्त्री मोदीले लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको प्रश्नपत्र चुहावटलाई गम्भीर विषय भएको उल्लेख गर्दै यस्तो अपराधमा संलग्नमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नाम भने उहाँले सम्बोधनमा उल्लेख गर्नुभएको छैन।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  ०८ : ४९  बजे