स्वास्थ्यमा सुधारपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपाश्री

काठमाडौं, ८ साउन । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उहाँ बिहीबार अन्नपूर्ण न्यूरो अस्पतालबाट घर फर्किनुभएको हो।

अस्पतालका अनुसार दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको छ भने हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ। चिकित्सकको निगरानीमा उपचारपछि अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो।

अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्री अस्पतालबाट घर फर्किएको जानकारी दिनुभएको छ। उहाँले दीपाश्रीको सन्देश उद्धृत गर्दै ४० वर्ष उमेर पार गरेपछि कम्तीमा एकपटक मस्तिष्कको स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गर्नुभएको उल्लेख गर्नुभएको छ।

दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल परिवार, शुभेच्छुक तथा अस्पताल पुगेर हौसला र शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

चलचित्र ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा अस्वस्थ भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। त्यसपछि गरिएको स्वास्थ्य परीक्षणमा मस्तिष्कमा ट्युमर देखिएपछि सफल शल्यक्रिया गरिएको थियो। हाल चिकित्सकको सल्लाहअनुसार उहाँले केही समय आराम गर्दै स्वास्थ्य लाभ गर्ने बताइएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  ०८ : २३  बजे