बैंकिङ कसुरमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा, ४२ करोड कर्जा दुरुपयोग आरोप

काठमाडौं, ७ साउन । बैंकिङ कसुर मुद्दामा व्यवसायी तथा जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बयान तथा थुनछेक बहसपछि अग्रवाललाई थुनामा पठाउने आदेश गरेको हो।

यसअघि गत जेठ २८ गते इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र शाहिल अग्रवालविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसुरमा मुद्दा दायर गरिएको थियो।

अदालतको आदेशअनुसार जगदम्बा स्टिल्सले सहवित्तीयकरणमार्फत नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको वर्किङ क्यापिटल कर्जा कम्पनी सञ्चालनको सट्टा जग्गा खरिद तथा अन्य प्रयोजनमा प्रयोग भएको देखिएको छ। उक्त कर्जाको रकम सहप्रतिवादी दीपक भट्टको स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्स प्रालिमा सेयर लगानीका रूपमा प्रयोग गरिएको प्रारम्भिक प्रमाणबाट देखिएको अदालतले उल्लेख गरेको छ।

आदेशमा जगदम्बा स्टिल्सको खाताबाट जारी भएका चेकमा शंकरलाल अग्रवाल हस्ताक्षरकर्ता रहेको, कम्पनीको वित्तीय कारोबारमा उनको प्रत्यक्ष संलग्नता देखिएको तथा कर्जा दुरुपयोगबारे जानकारी नभएको भन्न सकिने अवस्था नरहेको उल्लेख छ।

नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदन, सहप्रतिवादीहरूको बयान तथा बैंकिङ कारोबारका कागजातका आधारमा अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ विपरीत कर्जा दुरुपयोग भएको प्रारम्भिक आधार पर्याप्त देखिएको निष्कर्ष निकालेको छ।

अदालतले वित्तीय प्रणालीमा पर्न सक्ने जोखिम, जटिल आर्थिक कारोबार र प्रमाणको अवस्थालाई मध्यनजर गर्दै अग्रवाललाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  २१ : ०५  बजे