वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं, ६ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पुजा शाही, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने सप्तरी बोदेबरसाईन नगरपालिका-३ घर भएका २० वर्षीय दिपक साह, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही बसबरीया गाउँपालिका–३ घर भएका ४१ वर्षीय जय मंगल प्रसाद निसाद र काठमाडौं महानगरपालिका–३२ बस्ने रामेछाप मन्थली नगरपालिका(३ घर भएकी ३७ वर्षीया मिना श्रेष्ठ खत्री रहेका छन् ।

पक्राउ मध्ये पुजाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ, दिपकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, जय मंगलले ब्रनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३८ हजार रूपैयाँ र मिनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडीतहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुजालाई काठमाडौं महानगरपालिका–१२ बाट र दिपकलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बाट सोमबार तथा जय मंगललाई काठमाडौं महानगरपालिका–९ बाट र मिनालाई काठमाडौं महानगरपालिका–३२ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १६ : १५  बजे