प्रदेश सत्ता समीकरणमा सक्रिय प्रचण्ड–ओली, दुवै पक्षमा आन्तरिक छलफल तीव्र

काठमाडौं, ६ साउन । प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरणबारे सहमति जुटाउने प्रयासस्वरूप नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकट नेताहरूसँग छुट्टाछुट्टै परामर्शलाई तीव्र बनाएका छन्।

मंगलबार दुई नेताबीच करिब दुई घण्टा भएको भेटवार्तापछि वाम शक्तिबीच सहकार्यको सम्भावना खुलेको संकेत देखिए पनि सत्ता साझेदारीको मोडालिटी र कार्यढाँचाबारे अझै ठोस सहमति बनिसकेको छैन।

एमाले अध्यक्ष ओलीका सचिवालय सदस्य निरु पालका अनुसार दुई नेताबीच संवादलाई निरन्तरता दिने समझदारी बनेको छ। उहाँले पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेश सरकारको समीकरण र सम्भावित सहकार्यका विषयमा छलफल भएको जानकारी दिनुभयो।

भेटपछि संयोजक प्रचण्ड मधेश प्रदेशको भ्रमणमा रहँदै आफ्ना निकट नेताहरूसँग परामर्श गरिरहनुभएको छ भने अध्यक्ष ओलीले पनि आफ्ना सहयोगीहरूसँग आन्तरिक छलफललाई निरन्तरता दिनुभएको स्रोतहरूले बताएका छन्।

स्रोतका अनुसार एमालेका तर्फबाट महेश बस्नेत र प्रचण्ड पक्षबाट प्रकाश ज्वाला तथा वर्षमान पुन लगायतका नेताहरू वाम सहकार्यको सम्भावित खाकाबारे सक्रिय छलफलमा जुटेका छन्।

प्रदेश सरकारहरूको आगामी सत्ता समीकरणबारे अन्तिम निर्णय भने थप राजनीतिक संवादपछि मात्रै हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १५ : १०  बजे