काठमाडौं, ६ साउन । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया अस्थायी रूपमा रोकेको निर्णयको विरोध गर्दै युवा तथा लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरू माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले लोकसेवाको पूर्वनिर्धारित कार्यतालिकाअनुसार विज्ञापन र परीक्षा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।
प्रदर्शनमा सहभागीहरूले करार प्रणालीको दुरुपयोग अन्त्य, रिक्त दरबन्दीमा खुला प्रतिस्पर्धामार्फत स्थायी नियुक्ति, योग्यता र मेरिटको आधारमा पदपूर्ति तथा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
‘पहुँच भए खाऊ, युवा–स्वकीय सचिव खाऊ ! लोक सेवा भिड्ने भए, भर्ना छैन जाऊ’ लगायतका नारासहित प्रदर्शनकारीहरूले वर्षौँको तयारी र रोजगारीको आशामाथि सरकारले चोट पुर्याएको गुनासो गरेका छन्।
दुई दिनअघि सचिवस्तरीय बैठकले नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनापछि फाजिल हुने कर्मचारीको व्यवस्थापन नभएसम्म स्थायी पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको थियो। त्यसअनुसार कुनै पनि सरकारी निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना नयाँ स्थायी पदका लागि लोकसेवा आयोगमा माग पठाउन नपाउने व्यवस्था गरिएको छ।







प्रतिक्रिया