लागूऔषध नियन्त्रण ब्यूरोको अपरेशन सफल, १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नियन्त्रणमा, दुई मोटरसाइकल र मोबाइल पनि बरामद

सीमावर्ती क्षेत्रमा प्रहरीको कडा निगरानी, नेपाल–भारत सीमामा लागूऔषध तस्करीमा ठूलो सफलता

काठमाडौं, ६ साउन । लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय विराटनगरले मोरङको रंगेली नगरपालिका–७ बाट १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन् ।

ब्यूरोका अनुसार साउन ६ गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो। पक्राउपछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा बुझाइएको छ ।

घटनास्थलबाट १०१ ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटका BR 38AH 7193BR 38AQ 8243 नम्बरका दुई मोटरसाइकल तथा दुई थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्र हुँदै हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र विशेष अपरेशनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १४ : ४४  बजे