काठमाडौं, ३२ असार । सुर्खेत वीरेन्द्रनगरका महिलालाई प्रविधिसँगै कृषिमा आत्मनिर्भर बनाउन सामग्री प्रदान गरिएको छ । मेयरसँग महिला किसान कार्यक्रम अन्तरगत १ सय १८ जनालाई पावर टिलर, मिनिटिलर लगायत सामग्री नगर प्रमुख मोहनमाया ढकालले प्रदान गर्नुभएको छ । मेयर मोहनमाया ढकालले ‘मेयरसँग महिला किसान’ कार्यक्रममा सञ्चालनमा ल्याउनुभएको हो ।
उक्त कार्यक्रमले महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । सोही उद्देश्यअनुरूप नगरभित्रका महिला किसानहरूलाई मेसिनरी औजार वितरण गरिएको हो । कृषि नै आर्थिक विकासको महत्त्वपूर्ण आधार हो भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विशेषगरी यो कार्यक्रम महिला दिदी बहिनीहरूलाई नै लक्षित गरेर ल्याइएको ढकालले बताउनुभयो। ‘रोजगारी सिर्जना, उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयो , ‘वितरण गरिएका औजारहरू पाँच वर्षसम्म अन्त कतै दिन पाइने छैन ।
पटक–पटक अनुगमन हुने र उपलब्धिको समीक्षा समेत हुन्छ ।’ ढकालले यो परियोजना निकै महत्त्वाकाङ्क्षी योजना भएको बताउनुभयो । महिलाहरूलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उहाँले बताउनुभयो। महिलामैत्री नगर बनाउनका लागि ‘छोरीको लागि गर्वको नगर, महिलामैत्री नगर’ भन्ने नारा नै राखेर महिला आयआर्जन सम्बन्धी विभिन्न कार्यक्रमहरू ल्याइएको छन् ।
प्रतिक्रिया