रौतहट, ३ साउन । अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय सफलता हासिल गरेको छ ।
एक वर्षको अवधिमा प्रहरीले बिभिन्न मुद्दामा फैसला कार्यान्वयन गर्न ६९४ जनालाई पक्राउ, ४४८ फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउनुका साथै ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको तथ्य सार्वजनिक गरेको हो ।
आज जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एसपी सीताराम रिजाल ले वर्षभरि १ हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये ६८० मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ मुद्दा अनुसन्धानकै क्रममा छन् ।
यस्तै, दर्ता भएका ४ हजार ८५० ठाडा उजुरीमध्ये ४ हजार ३८० फर्छ्योट भइसकेका छन् भने ४७० उजुरी प्रक्रियामा रहेका छन् । लागुऔषधविरुद्धको अभियानमा प्रहरीले ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरेको छ । यस अवधिमा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४ हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको एसपी रिजालले जानकारी दिनुभयो ।
अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत पक्राउ परेका ४४८ फरार प्रतिवादीबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ ।
अवैध हातहतियार नियन्त्रण अभियानमा ६ थान हतियार र १९ राउण्ड गोली बरामद गरिएको छ भने ३ जना पक्राउ परेका छन् । यस्तै, नक्कली मुद्रासम्बन्धी ३ वटा मुद्दामा ७ जनाविरुद्ध कारबाही अघि बढाइएको छ । सो क्रममा १ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि १ हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु तथा १ हजार ६९६ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारी साधनलाई कारबाही गर्दा १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
भन्सार छली नियन्त्रण अभियानमा प्रहरीले १८ जनालाई पक्राउ गरी १५५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । यस क्रममा ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताउनुभयो ।
उहाँका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी हो । यसैगरी, स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । वन संरक्षण अभियानअन्तर्गत २२२ क्युबिक फिट सालको काठ बरामद गरी ५ लाख ९५ हजार २२५ रुपैयाँ राजस्व संकलन गरिएको छ भने २ जना पक्राउ परेका छन् ।
नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण अभियानमा ३० वटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ राजस्व संकलन गरिएको छ । घरेलु मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानमा ५ वटा अवैध मदिरा भट्टी नष्ट, १ हजार ५४५ लिटर मदिरा, २ हजार लिटर कच्चा पदार्थ, एक सवारी साधन तथा मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन गरिएको थियो । साथै, एक वर्षको अवधिमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी रिजालले सीमित जनशक्तिका बाबजुद नागरिकलाई प्रभावकारी सेवा दिन प्रहरी सफल भएको बताउनुभयो ।
अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, राजस्व छली नियन्त्रण तथा सामुदायिक प्रहरी सेवामा प्राप्त उपलब्धि स्थानीयवासी, सञ्चारकर्मी र सरोकारवाला निकायको सहयोगकै परिणाम भएको उहाँले उल्लेख गर्नुभयो ।







प्रतिक्रिया