‘अन्धविस्वास’ले अर्जेन्टेली राष्ट्रपति विश्वकप फाइनलमा उपस्थित नहुने, घरवाटै हेर्ने

काठमाडौं, ३ साउन । अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलीले आज हुने विश्वकपको फाइनल खेलमा उपस्थित नहुने निर्णय गर्नुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति माइलीले अन्धविश्वासका कारण आफ्नो देश र स्पेनबीच हुने विश्वकपको फाइनल खेल हेर्न नजाने बताउनुभयो ।

५५ वर्षीय माइलीले आफू संयुक्त राज्य अमेरिका नजाने र अन्य सबै खेलहरूमा झैँ यसपटक पनि राष्ट्रपतीय निवासबाटै खेल हेर्ने कुरा पुष्टि गर्नुभएको छ । फ्रान्सलाई हराएर फाइनल चरणमा पुगेको युरोपेली च्याम्पियन टोलीविरुद्ध आइतबार हुने खेल हेर्नुहुन्छ कि भनेर सोधिँदा माइलेलेलाई यसरी जवाफ दिए, ‘कदापि होइन । म ओलिभोस (पूर्वी अर्जेन्टिनाको एक नगरपालिका) बाटै सबै खेलहरू हेर्नेछु ।’

यो निर्णय अन्धविश्वासका कारण गरिएको हो भन्ने कुरा पुष्टि गरे पछि राष्ट्रपतिले आफ्ना अन्य बानीहरूबारे पनि बताउनुभयो ।

‘चिसो भए पनि म हिटर नबाल्ने भएकाले म एउटा तेल कम्पनीको लोगो भएको ज्याकेट लगाउँछु,’ उहाँले भन्नुभयो, ‘स्विट्जरल्यान्डविरुद्धको खेलको दिन मलाई त्यसले निकै गर्मी बनायो । मैले त्यो फुकाले अनि उनीहरूले हाम्रो विरुद्ध गोल गरे । त्यसपछि मैले त्यो फेरि लगाएँ र कहिल्यै फुकालिनँ ।’

फुटबलको सन्दर्भमा अन्धविश्वास वा विशेष मान्यताहरूलाई पछ्याउने उहाँ मात्र होइन । सन् २०२४ मा प्रशिक्षक लियोनेल स्कालोनीले एक पत्रकारलाई बताए अनुसार उहाँ सधैं आफ्नो दाहिने खुट्टा टेकेर मात्र मैदानमा प्रवेश गर्नुहुन्छ । ‘मैले फुटबल खेल्न सुरु गरेदेखि नै यसो गर्दै आएको छु र कहिल्यै छोड्ने छैन,’ उहाँले भन्नुभयो,‘खेलको नतिजा जे भए पनि यसले कुनै फरक पार्दैन ।’

खेलाडीहरूले पनि आफ्नै किसिमका विशेष परम्परा वा नियमहरू बनाएका छन् । सन् २०२१ मा ब्राजिललाई हराएर २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जिते यता, लियोनेल मेसी, रोड्रिगो डे पाउल र अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले केही महत्त्वपूर्ण खेलहरू अघि सँगै तस्बिर खिचाउने गर्नुभएको छ ।

त्यसयता, उहाँहरूले ‘लक्की’ मानिने सोही परम्परालाई निरन्तरता दिँदै सन् २०२२ मा इटालीविरुद्धको ‘फिनालिसिमा’ र सोही वर्ष फ्रान्सविरुद्धको विश्वकप फाइनल अघि पनि तस्बिर खिचाउनुभएको थियो र ती दुवै खेलमा उहाँहरू विजयी पनि हुनुभयो ।

अर्जेन्टिनाले १९ जुलाईमा मेटलाइफ स्टेडियममा सन् २०२२ को विश्वकप उपाधिको रक्षा गर्ने प्रयास गर्नेछ । उक्त खेल नेपाली समय अनुसार आज राती १२ः४५ बजेवाट सुरू हुनेछ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १७ : ५३  बजे