काठमाडौंमा गोली प्रहार गरी २४ हजार ७ सय क्याप्सुल लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकामा लागूऔषध सप्लाइ गर्ने गिरोहमाथि प्रहरीले गोली प्रहार गरी ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु दोभानपुल नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत रुपडिहाका २५ वर्षीय राज सोनि, बाँके नेपालगंजका १९ वर्षीय निखिल सोनि र सुर्खेत पञ्चपुरीकी १९ वर्षीया शोफिया मगर रहेका छन् ।

ब्यूरोका अनुसार भारतको रुपडिहाबाट काठमाडौं उपत्यकासम्म लागूऔषध ‘टपेन्डाडोल’ ल्याई कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । नियन्त्रणमा लिने क्रममा कारोबारीहरूले प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले चेतावनी स्वरूप हवाई फायर गरेको थियो ।

चेतावनी दिँदा समेत भाग्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक राज सोनि घाइते भएका छन् । उनको दाहिने खुट्टाको घुँडामुनि १ राउण्ड र बायाँ खुट्टाको घुँडामुनि १ राउण्ड गरी जम्मा २ राउण्ड गोली लागेको छ । घाइते सोनिको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले उनीहरूको साथबाट २४,७०० क्याप्सुल टपेन्डाडोल र ३ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि ब्यूरोले हिरासतमा राखेर थप आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १७ : ३३  बजे