काठमाडौं, ३ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको भए पनि त्यसबारे कसैले प्रश्न नउठाएको टिप्पणी गर्नुभएको छ।
आइतबार एमालेका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जाने युवाको विषयलाई लिएर व्यापक आलोचना हुने गरेको स्मरण गर्दै अहिले झन् बढी युवा विदेशिए पनि त्यसबारे मौनता देखिएको बताउनुभयो।
उहाँले अघिल्लो वर्ष यही समयमा विदेश जानेहरूको विषयमा अत्यधिक चर्चा र आलोचना भएको उल्लेख गर्दै अहिले संख्या बढ्दा पनि त्यसलाई स्वाभाविक भन्दै व्याख्या गर्न थालिएको टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले एउटै विषयलाई परिस्थिति अनुसार फरक–फरक ढंगले व्याख्या गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै जनहितभन्दा संकीर्ण राजनीतिक स्वार्थका लागि तथ्यलाई बङ्ग्याउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
उहाँले यस्ता भ्रमपूर्ण व्याख्यालाई तथ्यका आधारमा सच्याउँदै जनतासमक्ष सही सूचना पुर्याउने प्रभावकारी माध्यम संसद् भएको उल्लेख गर्नुभयो। कानुन निर्माणका लागि आवश्यक संख्या आफ्नो पक्षमा नभए पनि जनताको हितका विषय उठाउने महत्वपूर्ण थलो संसद् नै भएको उहाँको भनाइ थियो।







प्रतिक्रिया