काठमाडौं, ३२ असार । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण ७ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले समसामयिक राष्ट्रिय सरोकारका विभिन्न विषयमा निर्णय गर्दै मिटरब्याज पीडितको समस्या समाधानलाई प्राथमिकतामा राखेको छ ।
मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गरी वार्ता प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
सो टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन् ।
बैठकले गरेका अन्य प्रमुख निर्णयहरू यस प्रकार छन्:
नयाँ सिक्का: रु. १ र रु. २ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने ।
अनुदान सहायताः नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।
वन क्षेत्रसम्बन्धी व्यवस्था : संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वनक्षेत्रमा रूखरपोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूखरपोल हटाउनुपर्ने भएमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने ।
संगठन र कर्मचारी व्यवस्थापन: विभिन्न मन्त्रालयहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने तथा सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गर्ने ।
अध्यादेश/आदेश: ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८३’ स्वीकृत गर्ने ।







प्रतिक्रिया