भारतले सगरमाथाको फेदीमा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

काठमाडौं, ३१ असार । भारतको सहयोगमा नेपालको सोलुखुम्बु जिल्लामा एउटा गुम्बाको निर्माण कार्य सुरु भएको छ । मङ्गलबार लिखु पिके गाउँपालिकामा उक्त गुम्बाको शिलान्यास गरिएको हो । सोलुखुम्बुलाई सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

छिमेकी मुलुकमा तल्लो तहको पूर्वाधारको तीव्र विकास गर्ने रणनीतिक पहलअन्तर्गत यो यस जिल्लामा भारतको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । भारतले यस गुम्बाको निर्माणका लागि ३ करोड ३० लाख भारतीय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले यस परियोजनासम्बन्धी विवरण उपलब्ध गराएको छ । एक विज्ञप्तिमा उल्लेख गरिएअनुसार मंगलबार लिखु पिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र भारतीय दूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा उक्त गुम्बाको शिलान्यास गर्नुभएको हो ।

दूतावासले जनाए अनुसार यो उच्च प्रभाव पार्ने सामुदायिक विकास परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । नेपालको सोलुखुम्बु जिल्लामा सञ्चालन हुन लागेको यो छैटौं परियोजना हो । भारतका यस्ता परियोजनाहरू मुख्यतया नेपाल, श्रीलंका, भुटान र माल्दिभ्सजस्ता निकटतम छिमेकी मुलुकहरूमा कार्यान्वयन गरिन्छन् ।

सो अवसरमा बोल्दै लिखु पिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले भारतको निरन्तर विकास सहयोगको स्रर्हाना गर्नुभयो । भारतीय दूतावासले यो परियोजनाले नेपाल र भारतबीचको घनिष्ठ विकास साझेदारीलाई झल्काउने बताएको छ ।

विगत सात दशकमा भारत र नेपालबीचको विकास सहयोग विस्तार मात्र भएको छैन, बरु विभिन्न क्षेत्रमा यसको विविधीकरण पनि भएको छ । नेपालमा आधुनिक पूर्वाधार विकासका लागि सहयोगको सुरुवात सन् १९५१ मा काठमाडौंस्थित गौचर विमानस्थलको निर्माणसँगै भएको थियो, भारतको सहयोगमा यो परियोजना सन् १९५४ मा सम्पन्न भयो ।

भारत सरकारका विभिन्न विकास परियोजनाहरूबीच समन्वय गर्न सन् १९५४ मा नेपालमा ‘इन्डियन एड मिसन’ स्थापना गरिएको थियो । त्यसयता, यो आपसी सहयोग दुई राष्ट्र बीचको साझेदारीको सबैभन्दा बलियो आधारस्तम्भ मध्ये एकका रूपमा स्थापित भएको छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १६ : ४७  बजे